विदेशमा अलपत्र नेपालीका लागि थप ४२ चार्टर उडान हुने

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ । बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुँदैछन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) छाउनीका अनुसार आगामी बुधबार (असार ३१) देखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने छ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार, युएई, दुबई, अबुधाबी, साउदी अरबको दमाम, रियाद, कुबेत, कतार, बहराइन, सारजाह र मेलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिने छ ।सीसीएमसीले उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको निर्देशक समितिले गरेको शुक्रबारको निर्णय अनुसार तालिका सार्वजनिक गरेको उल्लेख गरेको छ । सरकारले नियमित हुने व्यवसायिक उडान साउन ६ गतेसम्म रोकेको छ ।पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा तेस्रोपटकको उद्धार उडान तालिका सार्वजनिक गरेको हो ।कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने सरकारको अभियानको आज अन्तिम दिन (असार २८) हो । तेस्रो चरणको उद्धार उडान सुरु हुनअघि सरकारले दुई दिन उडान रोकेको छ । यो दुई दिन सरकारले उद्धार उडानमा भएका कमी कमजोरीमा समीक्षा गर्ने जनाएको छ ।सीसीएमसीले ६ वटा मुलुकका १० वटा विमानस्थलबाट नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिएको छ ।त्यस्तै विदेशी वायुसेवा कम्पनी अर्न्तगत यसपटक एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।यसअघि उद्धार उडानमा रहेका कतार र टर्किस एयर भने तेस्रो चरणको उद्धार उडानमा सामेल छैनन् । कतार र टर्किसले युरोप र अमेरिकामा अलपत्र परेका नेपालीलाई पहिलो र दोस्रो चरण चलेको एक महिना लामो उद्धार उडानका क्रममा नेपाल ल्याएका थिए ।
कोभिड–१९ को माहामारी रोकथाम गर्ने उदेश्य राखेर सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र चैत ११ गतेदेखि व्यवसायिक उडान रोकेको छ । पटकपटक गरी सरकारले आठौंपटकको निर्णयबाट साउन ६ सम्म उडान रोकेको हो । अहिले आन्तरिकतर्फ सीसीएमसी निर्देशक समितिको निर्णय अनुसार आन्तरिकतर्फ चार्टर उडान भइरहेका छन् ।कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले बुधबारसम्म २४ वटा मुलुक हुँदै १ सय ५९ वटा उद्धार उडानबाट कम्तिमा २६ हजार नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएको जनाएको छ । सरकारले जेठ २८ देखि उद्धार उडान सुरु गरेको थियो ।
प्रकाशित : असार २८, २०७७ १३:५२ Source and Credit : ekantipur.comOrginal News link here